Get Adobe Flash player

नेवार संस्कृतिको साझा पक्ष

नेवार संस्कृतिको साझा पक्ष

नेवाः देय् दवू को दोस्रो राष्ट्रिय सम्मेलन पूर्वाञ्चल विर्तामोडमा प्रस्तुत कार्यपत्र

नेपाल सम्बत् १११६ चउलागाः२ (२०५२ चैत्र २३ गते)

        प्रस्तोता :डा. सत्य मोहन जोशी

        अनुवादक : पूर्ण कृष्ण श्रेष्ठ

 

१. भुमिका

        एशिया महाद्दीपमा नेपाल एक सानो मुलुक भएता पनि यहाँको प्राकृतिक र भौगोलिक स्वरुपको आफ्नै विशेषता भएकोले यहाँको हिमालय श्रृंखलाको सबै भन्दा उच्च शिखर सगरमाथा Mount Everest आदिम मानवको आश्रय स्थल हो । यही हिमालको काखमा भोट, लेक, पहाड, कछाड, भित्री मधेश र तराईको भुभाग छ । यहाँको विभिन्न अञ्चलको जङ्कल र खोलाको दाँयावाँया आफूलाई सजिलो हुने ठाउँमा आदिकाल देखि आफ्नो रीतिथिति भएका र आफ्नै परम्परा विविध मातृभाषा बोलिचालि गर्ने जाति जनजातिका मानिसहरु बसोबास गरी वसेको पाइन्छ । १ यिनीहरुले नै यहाँको माटो खनिखोस्री गरी जग्गा आवद गरेर उर्वर बनाए, खेतवारी कमाए, गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, हाँस वस्तु पालन गर्न सुरु गरे । यिनीहरुले नै आआफूले दुःख कष्ट गरी बिघ्नबाधा हटाउन संघर्ष गर्दै, दुःख सुख अनुभव गरी जीवन यापनको क्रम वसाले । तर मानिसहरु समाजमा बस्ने प्राणी भएकाले, सामुहिक रुपमा आफ्नो समृद्धि र उन्नति गर्नकालागि यिनीहरु जहिले पनि प्रयत्नशील भइ नै रहे । त्यसकारण यिनीहरु आफ्नो भौतिक आवश्यकता  (खाने, पिउँने, बस्ने, लगाउँने ) भएर मात्र सन्तोषी भएर बस्न सकेनन् । यिनीहरुले आफ्नो जीवन यापनकालागि जति सक्दो बढि उन्नत र समृद्ध गराउँन बहुतै चिन्तन मननको प्रकृया पनि अनुसरण गरे । यसैको परिणाम स्वरुप यिनीहरुले आफ्नो कार्यक्षेत्रमा ज्ञान वुद्धि लगाएर संस्कृति (साहित्य, संगीत, कला) पनि सिर्जना गरे ।

 

२. नेवाः संस्कृति

        नेपालको विभिन्न जाति जनजातिको समूहमा एउटा सबैभन्दा पुरानो नेवार जाति पनि हुन पुगे । यिनीहरुको मुख्य वस्ती पहाडी भेग उपत्यका (काठमाण्डौ उपत्यका) हो, पछि यिनीहरु यहीबाट वरपरका पहाडी इलाका र दक्षिणी तराई भेगमा पनि बसोबास गर्दै विस्तार विस्तारै फैलिँदै गए ।

        नेपालको काठमाढडौ उपत्यकामा नेवारहरुनै बसोबास गरेका हुन् भन्ने कुरामा आज सम्म पनि अन्वेषण र अनुसन्धानको नै विषय बनि रहेको छ । यसरी नै पुरातन प्रस्तरयुग, नुतन प्रस्तरयुग बदलिएर आए जस्तै, उपत्यकामा ढाल फाँड गरी उर्बर बनाउँने प्रविधि जानेर खेतीको काम गर्न जाने पछि, परालले छाएको झुप्रो र घरमात्र होइन, वहाः वही मन्दिर र अनेक कलाकृति पनि बनाउँन जाने, त्यस पछि यिनीहरुले विस्तार विस्तारै चाडपर्व, जात्रा, उत्सव गर्न पनि जाने, यसैसँग सम्बन्ध भएको अनेक किसिमको बाजाहरु बजाउँन, गाना गाउँन र नाच्न पनि जाने । त्यसपछि नेवार संस्कृतिको विकास क्रम विकसित हुँदै गयो ।

        यस्तो किसिमको सांस्कृतिक आधारमा नेवार जातिको सामाजिक संरचनाको प्रसंग अगाडि  आउँछ । नेवार समाजमा संयुक्त परिवारको प्रधानता देखिन गयो । नेवारहरुको वस्ती भएको ठाउँमा सँगसँगै लस्करै घर (कलात्मक झ्याल ढोका भएको) जोडेर बनाउँन थालियो । नेवारहरुमा आफन्तहरु सित, छिमेकीहरुसित सँगै बसेर जीवन निर्वाह गर्ने पद्धति विकसित भयो । शहरी इलाकाको वस्ती भएमा साझा चोक, साझा बाटो (गल्लि), साझा आँगन बनाई संगसंगै बस्ने गरे । यस किसिमको वस्ती छेउमा छ्वास फाल्ने ठाउँ पनि बन्न गयो, यसरी नै ठाउँ ठाउँमा इनार, गाःहिटी (गहिरोधारा), फलैंचा, पाटी, पौवा, सत्तल पनि बनिँदै गए । पहाडी इलाकाको वस्तीमा भए हटिया बजार बनाई दांयाबांयाबाट लस्करै जोडिएको घर बनाएर बस्न थाले । जुन सुकै ठाउँको नेवार वस्तीमा कहिं गणेश, कहिं शक्ति पिठ, कहि भिमसेन, कहिं भैरव, कहिं नासःद्यः÷नासान, कहिं चैत्य स्थापना गरे । देवी देवतामा नित्य पूजा गर्ने, घुम्ने, दर्शन गर्ने, भजन गर्ने, यसरी नै समय समयमा देवी नाच निकाल्ने, लाखे नाच निकाल्ने, देवतालाई खटमा राखेर जात्रा गर्ने, चाड पर्व मनाउँने, कुल पूजा गर्ने नेवारहरुको सांस्कृतिक जीवनको पक्ष हुन पुग्यो ।

        प्रारम्भिक कालमा नेवार समाजका मानिसहरु जहाँ वसेतापनि जुन सुकै पेशा अपनाए तापनि उनीहरु सवै एउटै जाति भएर एक ढिक्का भएर बसेको हुनुपर्दछ । उनीहरुले सिर्जना गरेको संस्कृति पनि समानता र एकरुपता भएको हुनु पर्दछ ।

        पछि नेवार समाजमा विभिन्न किसिमका पक्षहरुले स्थान पाउँदै गए त्यसरी नै मानिसको थर र व्यवसाय अनुसारको असमान ऐन कानुन नियम भित्र जीवन निर्वाह गर्न पनि बाध्य बनाए नेवारहरु आफू एकताबद्ध भै रहेको समाजमा विभिन्न ब्रम्हजु, गुभाजु, स्य स्यः, वरे, नायः, पो, च्याम खलः आदि पनि देखिन थाल्यो, आर्थिक रुपमा पनि धनि गरिव बहुतै देखिन आयो । पेशागत विभाजन त झन समुह समुहमा उपजाति (एउटै जाति भित्र धेरै किसिमको) पनि वनाइयो । त्यसमाथि पनि मानिसहरु विभिन्न राजनैतिक इकाईको विभिन्न किसिमको सदस्य पनि हुन थाले ।

 

३. नेवाः संस्कृतिको विविधता

        यसैको परिणाम अनुसार नेवार जाति भित्र विभिन्न नेवार समाजको विभिन्न किसिमको संस्कृति पनि देखिन आयो । अझ कतिपय नेवार समाजमा बोलिने भाषा समेत आफ्नो छुट्टै स्वभाव र पहिचान भएको देखिन थाल्यो । जस्तैः

        काठमाण्डौको नेवारहरुले पाहाँ चःहे्र भक्तपुरका नेवारहरुले विस्केट जात्रा ललितपुरका नेवारहरुले बुँगःद्योको जात्रा (मच्छेन्द्रनाथको जात्रा) त्यसरी नै गाउँ गाउँमा पनि विभिन्न किसिमको जात्रा चाडपर्वहरु विभिन्न समयमा विभिन्न किसिमको थितिरीति परम्परा मनाउँदै आए । एउटै नेवार समाज भित्र संस्कारजन्य संस्कृतिलाई ब्रम्हजुहरुको बुरांतयेगु, स्यस्यःहरुको कयता पुजा यायेगु, गुभाजुहरुको लागि बरे छुइगु, ज्यापुका लागि ओलाः चिनेगु, कतिपयले त यस्तो किसिमको संस्कार जन्य संस्कृतिबाट वञ्चित भइ रहेको अवस्था पनि बन्दै गयो ।

 

        इस्वी सम्वत्को अठाह्रौं शताब्दीको उत्तराद्र्धमा नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न भएको विशाल राष्ट्रमा परिवर्तन भयो । काठमाण्डौ, ललितपुर, भक्तपुर र त्यसरी नै २२ से र २४ से राज्यहरुको अस्तित्व पनि एउटै विशाल नेपाल भित्र विलीन हुन गयो । नेपाल विभिन्न जाति जनजातिको साझा फूलबारी हुन पुग्यो ।

        त्यसपछि नेवार जातिको समृद्ध संस्कृति भित्र रहेको जात्रा पर्वहरुलाई राष्ट्रियकरण पनि गरियो । नेवारहरु छाय्हायेकाः (अजिमाद्यः) समयवजी खाएर मनाउँने यन्यापुन्हि इन्द्रजात्राको रुपमा परिणत हुन गयो, नेवारहरुको द्यःमाजु (कुमारी) राष्ट्र कै नै अधिष्ठात्री देवी कुमारी हुन गयो । पाहाँ चःह्रे (पासा चःह्रे) लाई घोँडे जात्राको रुपमा परिणत गरियो । त्यसरी नै बुँगद्यःको जात्रामा भोटो देखाउँने जात्राले पनि राष्ट्रिय सम्मान प्राप्त गर्यो । यसरी नै धेरै कलाकृतिले भरिएको सांस्कृतिक सम्पदा वहाःबहि, देवस्थल, दरवार, ढुङ्केधारा, ढुङ्काको स्तम्भ लेखिएको प्रतिमा) आदि पनि साझा राष्ट्रिय सम्पत्ति हुन गयो । यस्तो विषय सवै सम्झदा, नेवार जातिको पुर्खाहरुले चिन्तन मनन गरी खुन पसिना बगाएर सिर्जना गरेको आफ्नो उपत्यकाका सांस्कृतिक सम्पदालाई आज आएर संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संघले (UNESCO)  विश्व सांस्कृतिक सम्पदाको (WORLD CULTURAL HERITAGE)साझा सूचिमा सूचिकृत गर्यो । यो नेवारहरुको लागि मात्र होइन सम्पूर्ण नेपाल राष्ट्र र नेपालीहरुका लागि ठूलो गौरवको विषय बन्न गयो ।

तर त्यस समयमा आएको परिवर्तनबाट एउटा नयाँ नेपाल निर्माण भएतापनि नेवारहरुको जातिय संस्कृति र भाषामा अतिक्रमण पनि सुरु हुन गयो । नेवारहरुको सांस्कृतिक चिन्तन र भाषिक जागरणमा ह्रास ल्याई दियो । जस्तै नेवारहरुको आफ्नो पहिचान भएको विभिन्न किसिमको लिपिलाई राज्यले मान्यता दिएन । नेपाल राष्ट्रकै नाममा रहेको नेवारहरुले मानाउँदै आइरहेको नेपाल सम्वत्लाई राज्यले विस्थापित गर्यो । राज्यले प्रचलनमा ल्याएको मुद्रामा अङ्गित चिन्ह मात्र होइन भाषा पनि साटियो । राज भाषा भएर आइरहेको नेपाल भाषा खुम्चियो । नेवार जातिको विकर्सित हुँदै गएको सांस्कृतिक र भाषिक क्षेत्र उजाड हुन पुग्यो ।

 

४. नेवाः संस्कृतिको समस्या

        नेवार समाजमा एकातिर विभिन्न किसिमको स्थानिय विविधता र विशेषता भएको संस्कृति भित्र तल माथि भएर जुटी रहन अप्ठेरो भावना विकसित गराईदियो, अर्कोतिर प्रकृतिकै संवाहक लिपि, तिथि र भाषालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राज्यले दमन गर्यो । जस्ले गर्दा नेवारहरुले आफ्नो समाजमा समानताको आधार झी (हामी) एउटै जाति भित्रको नेवार हौं भन्ने जातिय भावना सार्थक गर्न साझा प्रयास गर्न सकिएन, यसरी नै फेरी नेपाल भित्र नेवारहरुले नै प्रयोग गर्दै आइरहेको नेवार भाषा, नेपालभाषाको लिपि र नेपाल सम्वत् भनेको पनि नेपालकै सबै नेपालीहरुकै राष्ट्रिय सम्पत्ति हो, जसलाई राज्यले समान मान्यता दिन पर्छ भन्ने साझा अवधारणा बनाउन सकिएन । फलतः नेवार भाषाको जातिय संगठन र एकतामा कमजोर र शिथिल हुन पुग्यो ।

        आज हामी सवै नेवारहरु (उपत्यका भित्र बस्ने र वाहिर बस्ने) राजनैतिक रुपमा सचेत भएर तथा सांगठनिक रुपमा एकजुट भएर हाम्रो जातिय सांस्कृतिक सम्पदालाई हामी सबैले अपनाएर लगिएमा हामी नेवार हौं भन्ने जातिय गौरव बढ्न सक्ने तथा नेपालकै राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि भई आफ्नो पुख्र्यौली सम्पत्ति सांस्कृतिक मुल्य र मान्यता पहिचान र विशेषता झल्किने साझा संस्कृतिलाई जान्न पर्यो, अपनाउँन पर्यो, प्रयोगमा ल्याउँन पर्यो, विकर्सित गर्न पर्यो (यसर्थ हामीले स्थानिय महत्व र विशेषता भएको विभिन्न किसिमको धार्मिक र सामाजिक प्रभाव पार्ने हाम्रो संस्कृतिलाई तिरष्कार गर्ने अथवा निर्मुल गर्ने भनिएको होइन) होइन । यस्तो हाम्रो विभिन्न स्थान अनुरुप विकर्सित भई रहेको संस्कृतिको छुट्टै महत्व भै नै रहने छ ।

        त्यसकारण आजको परिप्रेक्षमा नेपाल भित्र विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नेवारहरुमा जातिय चेतना र परिचयको निंति नेवारहरुको जातिय संगठन अनिवार्य छ । त्यसैले त्यसलाई प्रोत्साहन दिन नेवार मात्रले गर्ने (जहाँ वस्ने नेवार भए पनि) सवैको संयुक्त, साझा नेवार संस्कृतिलाई अपनाउँदै प्रयोग गर्न पर्ने देखिन्छ, विकसित गर्दै लान पर्ने देखिन्छ । हामीले समयमा नै यस्तो किसिमको हाम्रो नेवार संस्कृतिको मूल्य र मान्यता प्रष्ट्याउँन सकिएन, प्रयोग गर्न सकिएन भने हामी नेवारहरुले आफूलाई चिनाउँन अथवा आफ्नो पहिचान दिन नसकेमा हामी कुवामा बस्ने भ्यागुता जस्तै भइ संकुचित घेरा भित्र मात्र अलमलमा रहीरहन सक्छौं ।

        हामीले यो पनि विचार गर्नै पर्छ, नेवार समाजमा जति पनि विविध संस्कृति (यहाँ विशेष गरी चाडपर्व जात्रा उत्सव) वाँकी रहेको छ, त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विकृति, विसंगति र वाह्य अतिक्रमण पनि देखिंदै आएको छ । यस्तो विषयमा हामीले अन्धविश्वास, रुढिवादी, देखासिकी तथा परम्पराको रुपमा मात्र हाम्रो सांस्कृतिक मुल्य र मान्यतालाई लिएर विचार गरेर मात्र हुँदैन । हामीले समय व्यवहार अनुसार छ छैन, सक्छ सक्दैन, सुहाउँछ सुहाउँदैन, ज्ञान वर्धक हो होइन विचार गरेर पनि हेर्न  पर्दछ । यसै सन्दर्भमा फेरि एउटा प्रश्न पनि उठ्न सक्दछ, हाम्रो पुर्खाहरुले सिर्जना गरेर हामीलाई नासो (Legacy)  भनि दिएर आफ्नो सबै सांस्कृतिक सम्पदा आजको समयमा हाम्रो लागि आवश्यक हो की होइन? हामीले प्रतिनिधित्व गर्दै आएको आजको युगमा माथि प्रस्तुत गरेको सांस्कृतिक क्षेत्रमा हाम्रो पनि केही नयाँ अथवा परिवर्तित विचार अथवा सुधार गरी योगदान दिनु पनि उचित हुन सक्दछ सक्दैन यसमा पनि हामीले स्वस्थ मनले विचार गर्न सक्नु पर्दछ, होइन भने हामीले हाम्रो नेवार समाजलाई उन्नत, समृद्ध, सुसंस्कृत गरी गतिशील गर्न पर्ने ठाउँमा जहिले पनि ओझेलमा पछाडि पारि राखेको जस्तो पनि हुन सक्छ ।

 

५. समस्या समाधानका उपाय

        त्यसकारण हामीले हामी नेवारहरुको सांस्कृतिक सम्पदा भित्र सबै नेवारहरुले (जुनसुकै क्षेत्रमा जहाँ बसोबास गरेको भए पनि) संयुक्त भएर साझा रुपमा अपनाउँन पर्ने, प्रयोग गर्न पर्ने र वचाई राख्न पर्ने (जसमा नेवारहरुको जीवन पद्धति, जीवन दर्शन, जातिय गौरव र पहिचान पनि रहि रहने छ) हाम्रो संस्कृतिको प्रमुख अङ्क रहेको चाडपर्व, जात्रा उत्सवलाई मात्र हामीले अपनाएर लान सक्यौं भने नेवारहरुको सांस्कृतिक एकता, जीवन पद्धति जहिले पनि उन्नत र सुसंस्कृत भएर जान सक्दछ । यस्तो किसिमको नेवार मात्रको साझा चाडपर्व, जात्रा उत्सव मनाइ जुनसुकै थर (ब्रम्हजु, गुरुजु, स्यस्यः, बरे, उराय्, ज्यापु, साय्मि, नायः, पो आदि) र व्यवसाय (ज्यामि, बज्जा, च्वमि, जागीरदार आदि)का नेवार होस, धनि गरिव होस् अथवा लेख्न पढन सक्नेनसक्ने नेवार होस् उनिहरुलाई एक आपसमा केवल रमाइलोको लागि मात्र नभै, जातिय सांस्कृतिक गौरवले सजिएको साधन वा नेपालको राष्ट्रिय संस्कृतिको संरचनामा अमूल्य योगदान पुगिरहन सक्नेछ ।

 

५.१ म्हपूजाको प्रचार

        यसैको प्रसङ्कमा एउटा बलियो, सशक्त र आदर्श भैरहेको सवुत मध्ये हामीले हाम्रो (नेवार समाजको सवै नेवारहरुको साझा) म्हपूजा लाई प्राथमिकता दिएर अगाडि लान सक्दछौँ । हुनत म्हपूजा भनेको तिहारको चाड भित्र गरिने एउटा महत्वपूर्ण पूजा उत्सव हो । नेपालमा तिहार चाड मनाउँने नेवार इतरका अन्य जाति जनजाति पनि धेरै छन् । काग पुजा, कुकुर पुजा, लक्ष्मी पुजा, गोवद्र्धन पूजा, भाईटिका तिहारमा मनाईने पूजा उत्सव हो । नेवारहरुले पनि यसमा आफ्नो किसिमले मनाउँदै आइरहेको छ । तर त्यही तिहार चाडको समयमा कछलाथ्व : पारु (कार्तिक शुक्ल प्रतिपदाका दिन) अरुले गोवद्र्धन पूजा गर्ने गर्दछ अथवा गोरु तिहार गर्दछ, नेवारहरुले (यहाँ सवै नेवारका लागि) आफ्नो ठूलो परम्परा र थितिरीति भएको म्हपुजा मनाउँने गर्दछ । यही कछलाथ्वः प्रतिपदाका दिन नेपाल राष्ट्रको नाममा रहेको नेपाल सम्वत् को नव वर्ष पनि प्रारम्भ हुन्छ । नव वर्षको समारोह सम्पन्न गरी म्हपूजा गर्ने पद्धति नेपाल भित्र नेवार समाजमा मात्र प्रचलन रहेको छ । यसमा नेवारहरुको छुट्टै सांस्कृतिक मूल्य र मान्यताका साथसाथै उल्लेखनिय आध्यात्मिक दर्शन (आफूले आफैलाई चिंन्हे) को सैद्धान्तिक पक्षका साथै व्यवहारिक पक्ष पनि समेटिएको छ ।

        वास्तवमा म्हपूजा भनेको नेवारहरुको अति नै पुरानो समान भावनाले भरिएको सबै नेवारहरुको साझा संस्कृति हो । यो नेपाल सम्वत्को प्रचलन भन्दा पुरानो पनि हुन सक्दछ । सम्भवतः म्हपूजाको दिनलाई नै केन्द्र विन्दु बनाई हाम्रा शङ्खधर सांख्वाले त्यस समयको राघवदेव राजाको पर्यावस देशको आर्थिक परिवर्तन ल्याएर नेपाल सम्वत् प्रयोगमा ल्याएको हुन सक्दछ । अनि नव वर्ष प्रारम्भ भएको दिनमा यसैको आधारमा नेवार समाजको घरै पिछे परिवारजन जम्मा भई प्रत्येक नेवारहरु (बुढाबुढि देखि पास्नी गरि सकेका वच्चाहरु सवै) मण्डव पूजा गरेर आफ्नो देह (आत्मा) शुद्धि गरेर, अण्डा सगुन लिएर म्हपूजा गरिने परम्परालाई अवछिन्न रुपमा मनाई राखेको हुन सक्दछ ।

        म्हपूजाकै विकास क्रममा वि.सं. २००७ सालको जनक्रान्तिको प्रसङ्क पनि यहाँ हामीले संझन सकिन्छ । यसले नेपाल देशकै ठूलो राजनैतिक परिवर्तन ल्याई दियो । यसले हाम्रो समाजको सांस्कृतिक भाषिक र साहित्यिक क्षेत्रमा पनि नयाँ मोड लियो । च्वसापासा संस्थाले म्हपूजाको दिन विहानै प्रभात फेरि गरी नगरपरिक्रमा गर्ने, दिउँसो ठूलठूलो त्वाःदेवा (पानस) मा वत्ति वालेर वृहत पूजा गर्ने, अनि नव वर्षको म्हपूजाको भिंतुना दिने नयाँ परम्परा सुरुवात गर्यो । विशेष गरी च्वसापासाले म्हपूजाको सांस्कृतिक पक्षको आधारमा अपूर्व भाषिक जागरणको सत्र घोष गर्यो ।

        वि.सं. २०१७ सालमा वहुदलीय प्रजातन्त्रलाई प्रतिबन्ध लगायो । यसको ठाउँमा निर्दलीय पंचायती व्यवस्था सुरु भयो । यसै समयमा नेपाल सरकारले नेपाल जस्तो बहुजातिय, बहुभाषिक देशमा अन्य भाषालाई दवाएर एकल भाषा को अदुर दर्शी नीति अपनायो । वि.सं. २०२२ सालमा रेडियो नेपालबाट नियमित रुपमा प्रसारण भइ रहेको नेपाल भाषाको समाचार प्रसार गर्ने कार्यक्रम र नेवार भाषावाट संचालन भैरहेको जीवन दवू को कार्यक्रमलाई हटाइयो । यसले नेवार जातिको मौलिक हक अधिकारमा (भाषिक र सांस्कृतिक) असè रुपमा चोट पुर्यायो । यसै समयमा नेपाल भाषा मंका खलले नेपाल सम्वत् भनेको नेपालकै राष्ट्रिय सम्वत् हो भनिकन नारा दिएर नववर्षको सांस्कृतिक र भाषिक संघर्षको सुरुवात गर्यो, यसैसँग सम्बन्धित भिंतुना आन्दोलन ले तीव्र गति लियो । त्यसपछि उपत्यका भित्रको नेवारहरुले मात्र होइन नेपाल भरिका विभिन्न अञ्चलमा वस्ने नेवारहरुले पनि नेपाल सम्वत्को पहिलो दिन म्हपूजा समारोह गरी भिंतुना कार्यक्रम संचालन गर्ने परम्परा थितिरीति व्यापक रुपमा प्रयोगमा ल्यायो । नेवारहरुले आफ्नो संस्कृति र भाषा एकसाथ जागरुक गर्यो । यसैको एउटा प्रशंसनीय र अनुकरणीय उदाहरण बिराटनगरको झी पुचःले त्यहाँको सबै नेवारहरुलाई हाम्रो संस्कृति, हाम्रो मातृभाषा, हामी नेवार भएकोमा जातिय चेतना जागृत गराई भाषिक र सांस्कृतिक अभियान संचालन गर्यो । जसले सबै नेवारहरुलाई  एउटै क्रममा समान रुपमा एकजुट गरी नेवार मात्रको साझा म्हपूजा गर्ने मनाउँने पद्धति र परम्पराको सुरुवात हुन गयो ।

 

६. नेवाः संस्कृति र लोकतन्त्र

        वि.सं. २०४६ सालको जन आन्दोलनबाट निर्दलीय पञ्चायती व्यवस्थालाई हटाई दियो । नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहालि भयो । रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रसारण गर्ने कार्यक्रम ल्यायो । तर आज सम्म पनि जीवन दवू को सांस्कृतिक कार्यक्रम भने समावेश गरिएको छैन ।

        वि.सं. २०४७ सालमा नेपालको संविधान जारी भयो । यस संविधानको दफा ६ को (२०) ले नेपालको विभिन्न स्थानमा मातृभाषाको रुपमा बोलिने सम्पूर्ण भाषा नेपालकै राष्ट्रिय भाषा हुन् भनि भाषा नीति स्पष्ट गर्यो । यसले नेवारहरुको जातिय भाषा (मातृभाषा) लाई पनि राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त भयो । आफ्नो जातिय भाषा प्रति गरेको सरकारी मान्यतालाई नेवारहरुले ठूलो गौरवको रुपमा लियो ।

        त्यसपछि फेरि त्यही संविधानको दफा १८ ले नेपालमा रहेको विभिन्न जाति जनजातिलाई शिक्षा र संस्कृति सम्बन्धि हक अधिकार पनि प्रदान गर्यो । यस अनुसार नेवारहरुले पनि आफ्नो भाषा, लिपि र संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने अधिकार प्राप्त गर्यो । नेवार बालबालिकाहरुलाई प्राथमिक तहको मातृभाषामा शिक्षा दिने पाठशाला खोल्ने अधिकार पनि प्राप्त भयो ।

                आज हामी नेवार समुदाय भित्रका सम्पूर्ण नेवारहरुले (नेपालका विभिन्न क्षेत्रमा बसोबास गरी राखेका) सिक्न पर्ने, बुझ्न पर्ने, संझनु पर्ने र प्रयोगमा ल्याउँन पर्ने विषय यो छ की हामी नेवारहरुको जातिय भाषा पनि नेपालकै राष्ट्रिय भाषा हो । नेपालमा बस्ने विविध जाति जनजातिहरु सबै नेपाली नै हुन् । अनि नेवारहरुलाई पनि नेपाल हाम्रो देश हो र हामी पनि नेपाली हौं भन्नेमा गौरव महसुस भयो ।

        यहाँ सान्दर्भिक अर्काे एउटा विषय प्रस्तुत गर्दछु । हाम्रो जातिय संस्कृति र हाम्रो जातिय भाषा बिच ठूलो सम्बन्ध रहेको छ । भाषालाई संस्कृतिको संवाहक पनि भनिन्छ । यो तथ्यलाई हामी नेवारहरुले विर्सन हुँदैन, किनभने भाषा म्वां : सा जाति म्वाइ, जाति म्वाःसा राष्ट्र म्वाइ (भाषा बाँच्यो भने जाति बाँच्दछ, जाति बाँच्यो भने राष्ट्र बाँच्दछ) भन्ने भनाई छ । यसैलाई नेवारहरुले विर्सन हुँदैन । नेवारहरुले आफ्नो जातिय भाषा बोल्न जानेन, पढ्न लेख्न र बुझ्न बुझाउँन सकेन भने नेवार संस्कृति आफ्नै ठाने पनि प्रयोग गरि रहेता पनि अर्थ रहँदैन । वास्तवमा संस्कृतिसँग भाषाको नङ्क र मासु जस्तै सम्बन्ध रहेको हुन्छ । त्यसैले भाषालाई संस्कृतिको आत्मा हो भन्ने मानिन्छ ।

 

७. उपसंहार

        हुनत विभिन्न किसिमको गुणले गर्दा (विभिन्न स्थानका मानिसहरुको थर र व्यवसाय) सम्पूर्ण नेवारहरुले बोल्ने जातिय भाषामा समानता र एकरुपता देखिंदैन । यो विषय माथि उल्लेख भइ सकेको  छ । अनि सम्पूर्ण नेवारहरुको निम्ति उनीहरु जुनसुकै क्षेत्रको वा भेगमा बस्ने होस् अथवा देश भित्र वा देश बाहिर नै बसोबास गरेका होस् नेवार समाजका हरेक नेवार मात्रको लागि स्तरीय रुपमा कुराकानी गर्न, सुन्न, सुनाउँन, पढ्न, लेख्न, लेनदेन गर्न, अध्ययन अनुसन्धान गर्न, पत्रपत्रिका पुस्तक आदि प्रकाशित गर्न सबैलाई सजिलो हुने गरी एक सम्पर्क भाषाको आवश्यक हुन पर्दछ । यसको निम्ति नेपालको राजधानी रहेको काठमाण्डौको भाषा नै नेवार मात्रको सम्पर्क भाषा स्तरीय भाषाका रुपमा मानिन्छ । आज सम्म हाम्रो जति पनि नेपाल भाषाका पुस्तक प्रकाशन भएका छन् यहाँ बोलिने भाषा नै स्तरीय भाषा मानेर प्रकाशन भैरहेको छ । आजकल नेपाल भाषामा प्रकाशन हुने प्रायः सम्पूर्ण दैनिक, साप्ताहिक, पाक्षिक पत्र पत्रिकाहरु पनि यहाँकै भाषामा नियमित रुपमा प्रकाशन भै रहेको छ । यसमा हामीले विचार गर्न पर्ने सम्पर्क भाषा सँगसँगै आफ्नो विभिन्न स्वभाव, गुण र विशेषता रहेको हाम्रो स्थानीय भाषालाई पनि उत्तिकै श्रद्धा पूर्वक आफ्नै ठानी सम्वद्र्धन गरी राख्न पर्दछ । यस्ता भाषा वा भाषिकालाई सम्पर्क भाषा अथवा स्तरीय भाषा होइन भनि संकुचित भावले अपेक्षित गर्न हुँदैन । यति कुरामा ध्यान दिन सकेको खण्डमा हाम्रो सांस्कृतिक चेतनालाई हाम्रो भाषिक जागरणले मजबुत गरी संरक्षण गर्न सकिन्छ । यति सम्म मात्र हामी नेवारहरुले गर्न सकेको खण्डमा हामीले हाम्रो संस्कृति र जातिय भाषालाई सदा सदाका लागि जीवन्त राख्न सकिन्छ । एउटै वाक्यमा भन्नु पर्दा नेवार भन्ने को? नेवारको पहिचान भनेको के हो? यसको पूर्ण जवाफ नेवार संस्कृति र नेवार भाषा हो ।

        आज यसै सन्दर्भमा यही आधारमा हामी सम्पूर्ण नेवारहरुका लागि नेवाः देय् दबूको संगठन आवश्यकता भएको हो ।