■ विकास श्रेष्ठ ,केन्द्रीय दुजः
नेवाः देय् दबूको स्थापना संग संगै नेपाल राज्य भरी नेवाः एकताको अभियान बृहत रुपमा सुरुभयो । यसै सिलसिलामा नेपालको सबै जिल्ला,नगरगाँउ, वडा स्तरमा पनि नेवाः देय् दबूको संगठनविस्तार हुँदै जाने क्रममा नेपालको सुदूर पश्चिम क्षेत्रका विभिन्न जिल्लामा बसोबास गर्दै आइरहनु भएका नेवारहरू पनि एकीकृत गर्ने कार्य भयो । हुन त यहाँका विभिन्न जिल्लाहरूमा पहिले देखि नै विभिन्न उद्देश्यका साथ गठित गुथिहरू संचालित थिए । तिनै गुथिहरू मार्फत यहाँ साना ठूला नेवाः संस्कृतिक, सामाजिक कार्यहरू र संस्कारका गतिविधिहरू गर्दै आइरहेको पाइन्छ । जसले यहाँका नेवारहरूलाई भिन्ना भिन्नै गुथि तथा समूहमा विभाजन गरिएको पाइयो । यस बीचमा नेवाः देय् दबूको नेवाः एकताको अभियानको क्रममा कञ्चनपुर जिल्लामा पनि बि सं २०६८ सालमा नेवाः देय् दबू जिल्ला समिति गठन भइ सक्रिय रूपमा काम गर्दै यहाँका विभिन्न गुथिहरूलाई एकजुट गर्न सफल भयो । त्यसै गरी अन्य जिल्लाहरूमा पनि यस कार्यको शुरुवात भयो ।
मिति २०६४ बैशाख ८ र ९ गते दाको घोराहीमा भएको छैठौं महाधिवेशनमा मैले पनि कञ्चनपुर प्रितिनिधित्व गर्दै सहभागी हुने मौका पाएँ । महाधिवेशनमा केन्द्रीय कार्य समितिको निर्वाचनबाट मैले पनि केन्द्रीय सदस्यको जिम्मेवारी पाएको थिएँ । सो भन्दा पूर्व म नेवाः देय् दबू कञ्चनपुरको कोषाध्यक्ष र भगवती गुठी महेन्द्र नगरको सल्लाहकार थिए । सहयोगी साथीहरूको चाहना अनुरुप जिम्मेवारी पाएर एक क्षण त खुसी लाग्यो तर कता कता मनमा भने चिन्ता लाग्न थाल्यो कि म निर्वाचित त भए तर मेरो जुन जिम्मेवारी छ, त्यो पुरा गर्न सक्छु कि सक्दिन मेरो जित आज मात्र हो की ? मेरो ३ बर्षे कार्यकालको जितले सार्थकता हासिल गर्न सक्छु भन्दै मन मनै सपनाहरू तयार गर्न लागें ।
सर्वप्रथम त सुदुर पश्चिमको नेवारहरूको बारेमा अध्ययन गरे । यस क्षेत्रमा नेवारहरू आफ्नो थाक थलो छोडी केही काम केही व्यवसाय र केही जागीरको सिलसिलामा यहाँ पुगेको देखिन्छ भने केही भने तत्कालीन राजा महेन्द्रले कोहीलाई यहाँ ल्याई पुनर्वास गराइएको पाइन्छ । जसले गर्दा यहाँको एक ठाउँको नामै पुनर्वास रहन गयो । त्यस्तै डोटी जिल्लाका नेवारहरूको इतिहास भने बेग्लै रहेको पाइयो । आजभन्दा लगभग २५० वर्ष पहिले काठमाडौं, ललितपुर र भक्तपुरबाट ब्यापारको सिलसिलामा डोटी सिलगढी पुगेको र त्यही स्थायी बसोवास गरेको पाइन्छ । सुदुर पश्चिममा सबै पुरानो नेवारहरूको बसोबास रहेको क्षेत्र पनि शिलगढी नै भएको पाइयो ।
सुदुर पश्चिमको नेवार समुदायले मौलिक भेषभुषा, परम्परा, रितिरिवाजको संरक्षण गर्दै समयानुसार ठाउँ ठाउँमा जात्रा, पर्व संचालन गर्दै आइरहेका छन् । यहाँको सबैभन्दा चुनौती र समस्या भनेको मातृभाषा नेवाः भाषा नजान्नु रहेको छ । बिशेष गरी डोटी शिलगढीमा निरन्तर रूपमा परम्परागत गाईजात्रा, हिलेजात्रा, लाखे नाच आदि संचालन हुँदै आइरहेको छ ।
सुदूर पश्चिममा संगठन विस्तार पनि चुनौती कै रूपमा रहेको थियो । केन्द्रको नीति र निर्देशनमा यहाँका विभिन्न जिल्ला समिति, नगर समिति तथा अन्य नेवारहरूको उपस्थीति रहेको क्षेत्रलाई समेटी नेवाः देय् दबू सुदूरपश्चिम प्रदेश समितिको गठन गर्न सफल भयो । तत्पश्चात उक्त समितिको सक्रियतामा कञ्चनपुरको सवै स्थानीय निकायहरूमा पालिका समितिहरू गठन गरियो । त्यस्तै कैलालीमा जिल्ला समिति पुनःगठन तथा धनगढी उपमहानगर पालिका समिति गठन, डडेल्धुरा डोटी शिलगढीमा जिल्ला समिति गठन गरियो । बैतडी, र्दाचुला, अछाम, बझाङ र बाजुरा जस्ता नेवारहरूको न्यून उपस्थिति रहेको जिल्लामा समेत संगठन विस्तार गर्ने योजना सुदुरपश्चिम प्रदेश समितिको प्राथमितामा रहेको छ ।
सुदुरपश्चिम प्रदेश समितिको गठन पश्चात यहाँ पहिले नै गठन भइ क्रियाशील जिल्ला समिति तथा केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्य तथा अन्य शुभचिन्तकहरूको सक्रियतामा नेवाः जागरण अभियान संचालन भयो । जस अन्तर्गत मौलिक जात्रापर्वमा क्वाटी महोत्सव, नेपाल संवत् न्हूदं भिंतुना कार्यक्रम, नेवाः देय् दबू स्थापना दिवस, लाखे जात्रा तथा विभिन्न अन्तरक्रिया गोष्ठी कार्यक्रम आदि संचालन गर्न सफल भयो । नेवाः देय् दबू कञ्चनपुरको पहलमा गत बर्षदेखि लाखे नाच नचाउने परम्पराको शुरुवात भएको छ भने भीमसेनको मन्दिर बनाई केन्द्रको सहयोगमा आराध्यदेव भीमसेनको मूर्ति स्थापना गर्न सफल भएको छ । त्यस्तै सुदुरपश्चिममा भएको प्रथम बैलोरी पर्यटन तथा कृषि, औद्योगीक भेला २०७५ मा नेवाः देय् दबू कञ्चनपुर भीमसेन देव गुथिको तर्फबाट नेवाः संस्कृति झल्कने लाखे नाच, धिमेबाजा, कुमारी नृत्य प्रदर्शन नेवाः नृत्य तथा संगीत प्रर्दशन, नेवाः देय् दबू कैलालीको तर्फबाट काठमाडौंको टोखाबाट कलाकर्मी साथीहरूलाई बोलाई सफलतापूर्वक सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यस्तै २०७५ फाल्गुन २४ र २५ गते नेवाः सुदुर पश्चिम समितिको आयोजनामा धनगढी उपमहानगर पालिकामा सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट ज्यूको प्रमुख आतिथ्य र लगायत माननीय मन्त्रीज्यूहरू सांसदज्युहरू, नेवाः देय् दबू केन्द्रिय सदस्यहरूको उपस्थितिमा सफलता पूर्वक वृहत नेवाः सास्कृतिक प्रर्दशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्न सफल भयो । साथै सोही समयमा नेवाः देय् दबू केन्द्रिय समितिको चौथौं केन्द्रीय बैठकको आयोजना समेत गर्न सफल भयो ।
समग्रमा भन्नु पर्दा यस क्षेत्रमा धेरै पहिले देखि नै नेवारहरूको उपस्थिति रहेता पनि भाषिक, सांस्कृतिक चेतनको कमीले नगन्य रूपमा विभिन्न गतिविधि हुने गरिन्थ्यो । संस्कृति जात्रापर्वको रूपमा गाइजात्रा, सिथि जस्ता पर्वहरू मनाउने गरिन्थ्यो भने मातृभाषा पूर्ण रूपमा लोप हुने अवस्थामा पुगी सकेको थियो । नेवाः देय् दबूको विभिन्न प्रदेश, जिल्ला तथा पालिका स्तरीय समितिको गठन पश्चात यहाँ पहिले देखि रहेको गुथिहरूले पुनःगठित र एक आपसमा सहकार्यता गर्ने वातावरणको विकास भएको छ। जिल्ला जिल्लाका नेवारहरू एवं नयाँ पिढिमा मातृभाषा मौलिक भेषभुषा, रितिरिवाज, जात्रापर्व आदिको जागरण आएको छ । नेवाः हुनुमा गौरव गर्दै आफ्नो जातीय इतिहास, मातृभाषा, रितिरिवाज प्रति चासो बढ्दै गइरहेको छ । यसका लागि विशेष गरी नेवाः देय् दबू केन्द्र लगायत काठमाडौं, ललितपुर, भक्तपुरका साथसाथै कञ्चनपुर जिल्लाबाट पाल्नु भएका कलाकारहरूले कार्यक्रमको शोभा बढाई नेवाः जागरण अभियानमा अहम भुमिका निर्वाह गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
दाङ घोराही देखि आजको दिन सम्म पुग्दा मेरो कार्यकालको आरोह अवरोहमा मैले जे जति नेवाः समुदायको हितको लागि गर्न सक्यौं त्यो निश्चय नै कम छ । तै पनि राम्रो कामको थालनीले मनमा खुशी लागेको छ । गर्नु पर्ने अरु धेरै कामहरू बाँकी छन् । म भन्दा अग्रजहरूले धेरै गर्नुभयो, सुदूरपश्चिम क्षेत्रको केन्द्रीय प्रतिनिधि र एक नेवार भएको नाताले यस क्षेत्रमा नेवाः भाषा, कला, संस्कृति र संस्कारको विकासको लागि निरन्तर रूपमा अगाडी बढी रहने हृदताका साथ यस कार्य महत्वपूर्ण भुमिका निर्वाह गरी अहम सहयोग गर्नु हुने भीमसेन देव गुठि बैलोरी कञ्चनपुर तथा नेवाः देय् दबू कञ्चनपुर जिल्ला सचिव : पुनम श्रेष्ठ (तुलसी श्रेष्ठ) सुदुरपश्चिम प्रदेश संयोजक, बृजेन्द्र कुमार कायस्थ, समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरू, नेवाः देय् दबू कैलाली जिल्ला समितिका अध्यक्ष पुस्कल कर्माचार्य, सुभचिन्तक, सामाजिक अभियन्ता रमण चन्द्र श्रेष्ठ तथा नेवाः देय् दबू केन्द्रीय पदाधिकारीज्यूहरू लगायत सम्पूर्णमा हृदय देखि नै आभार व्यक्त गर्दछु
धनुषामा नेवाः देय् दबू
■ गोविन्द व शाही
२ नं प्रदेश समिति दुजः
धनुषा जिल्लाको विभिन्न स्थानहरूमा नेवारहरूको बसोबास रहेको पाइन्छ । बिशेषत कृषिमा निर्भर यहाँका नेवारहरू कोही कोही भने व्यापार व्यवसायमा संलग्न रहेको पाइन्छ । सांगठिक हिसाबले पछि परेको यहाँका नेवारहरू राजनैतिक र सामाजिक कार्यमा पनि खासै अगाडि रहेको छैन । त्यसै गरी भाषिक हिसाबले भने धेरै पछाडि परेका छन् । काठमाडौं, भक्तपुर, धुलिखेलबाट आएका नेवारहरू बाहेक यहांका नेवारहरूमा भाषाको ज्ञान छैन । उताबाट आएकाहरूले पनि क्रमश भाषा बिर्सदै गएको अवस्था छ । हाम्रो नेवारहरू भित्र विद्यमान केही रितिथितिलाई भने केही हदसम्म जर्गेना गरेको पाइन्छ । जस्तै : बेलविवाह, व्रतवन्ध, म्हपुजा, आदि कार्य भने यहाँका नेवारहरूले गर्दै आएका छन् । सस्कृतिसँग सम्वन्धित कुनै पनि बाजागाजा तथा नेवारी नृत्यहरूको ज्ञान भने छैनन् ।
गुठी, खलःपुचः आदि नेवारी सांगठनिक संस्थाहरू नभएपनि नेवारभित्र मर्दापर्दा तथा नेवार जातिको उत्थानको निम्ति भने एकै ठाउंमा बसोवास गरेका नेवारहरूले एक आपसमा सहयोगका लागि केही रकम जम्मा गर्ने चलन भने रहि आएको छ । हाम्रा कुल देवता भिमसेनको मुर्ति स्थापना एक दुई स्थानमा बाहेक अन्य ठाउंमा छैनन् ।
यस जिल्लामा बसोवास गर्ने नेवारका थरहरू यस प्रकारका छन् श्रेष्ठ, जोशी, गुवाजु, खड्गी, मानन्धर, शाही, कर्माचार्य आदि । त्यसमध्ये प्रायःले श्रेष्ठ भन्न रुचाउँछन् । नेवारहरूको भने प्रायः एउटै गोत्रो हुन्छ भन्ने मान्यताका आधारमा थाहा भए वा नभएर प्रायले आफ्नो कश्यप गोत्रो हो भन्ने गरिन्छ । यहाँ आजसम्म नेवारहरूको कुनै ठूलो सभा सम्मेलन, सांस्कृतिक कार्यक्रम भएको छैन । यहाँका अन्य जाति ले बेलाबगत ठूलासाना सभा, सम्मेलन, कार्यक्रमहरू गरिन्छ । जसले गर्दा यहाँ अन्य जाको तुलनामा नेवार जाति विभिन्न क्षेत्रहरूमा पछि परेको अवस्था छ । नेपाल आदिवासी जनजाति महासंघ देखि अन्य सामाजिक संस्था तथा राजनैतिक क्षेत्रमा समेत नेवारहरूको प्रतिनिधित्व र नेतृत्व सुन्य नै छ ।
म लगायत मेरा केही साथीहरूको सक्रियता र सहयोगमा नेवाः देय् दबू धनुषा जिल्ला समिति गठन गर्न सफल भयौं । दाङमा भएको नेवाः देय् दबूको महाधिवेशनमा सरीक भयौं । त्यसपछि हाम्रो जिल्लामा नेवाः देय् दबूको प्रभाव बदढै गयो । त्यो भन्दा अगाडि भने खासै आफ्नो जातीय संगठन प्रति कसैको चासो थिएन । हामी ठाउँ ठाउँमा गएर अव हाम्रो जाति एक हुनुपर्छ संगठन गर्नुपर्छ भन्दा कसैले चासो नदिने र यो पार्टीको कुरा भनेर हावामा उडाउथ्यो । अहिले भने प्रायः नेवारहरूको नेवाः देय् दबू प्रति चासो बढेको पाइन्छ । हामी एक हुनुपर्छ भाषा संस्कृति जोगाउनु पर्छ मुख्य भाषा सिक्नुपर्छ भन्ने चासो सबैमा देखा परेको छ विभिन्न स्थानमा गाँउ कमिटी, नगर कमिटी गठन गर्ने क्रममा अहिले पनि फाट्टफुट्ट समस्या देखा परे पनि हामीले बुझाउँदै छौं र सबैलाई आफ्नो जाति प्रतिको कर्तब्य पुरा गर्न सबैलाई सचेत गराउदै आइरहेका छौं । अहिले पनि कुनै ठाउँमा पार्टीको संगठन हो कि भनेर नेवाः देय् दबूको संगठन गर्न नमानि रहेको अवस्था छ । तर बुझिसकेकोहरूले भने केन्द्र प्रति आस्थावान हुदैँ अब हाम्रो लागि केन्द्रले के कस्ता सहयोग गर्छ भनेर आफ्नो इच्छा प्रकट गरेको अवस्था छ ।
पर्यटकीय नगरी जिरीमा नेवाः देय् दवुको भुमिका
■ बाबुराजा श्रेष्ठ
नेवाः देय् दबू जिरी नगरपालिका समिति नायः
एक नेपाल बहुभाषिक, बहुसंस्कृतिक र बहुजातीयका साथ भौगोलिक विविधता भएको देश हो भन्ने कुरा सर्वव्यापी छ । त्यसबाट अछुतो नरहेको दोलखा जिल्लाको जिरी समुन्द्री सतहबाट ११९५ मीटर उचाईमा रहेको नेपालको स्वीटजरल्याण्डका साथै सगरमाथाको प्रवेशद्वारको रूपमा परिचित छ । यहाँ लामोसाँगु जिरी सडकको विस्तार हुनु भन्दा अगाडी विशेष गरेर जिरेल, शेर्पा, सुनुवार, तामाङ जातका साथै क्षेत्री, बाहनुहरूको बसोबास हुँदै आएको थियो । वि.सं. २०३२ सालबाट शुरू गरेर वि.स. २०४० साल सम्ममा स्वीटजरल्याण्ड सरकारको सहयोगमा लामोसांगु जिरी सडक विस्तार सँगै यो ठाउँ एउटा व्यापारिक केन्द्रका साथ सगरमाथाको प्रवेशद्वारको रूपमा परिचित हुँदै जाने क्रममा व्यापार व्यवसाय लगायत विभिन्न पेशा गर्ने सिलसिलामा विभिन्न ठाउँबाट फरक फरक समुदायका मानिसहरूको बसोबास गर्ने क्रम बढ्दै गयो । सोहि क्रममा नेवार जातका मानिसहरूको पनि बसोबास बढ्दै गयो । नेवार समुदायको बसोबास बढे पनि यहाँ आफ्नो जातीय पहिचान सहितको कला र संस्कृतिका कार्यक्रमहरू हुन सकेको थिएन । यी कुराहरू नेवार समुदायले महशुस गरेता पनि प्रस्तुत गर्न नसकेको अवस्थामा वि.सं. २०७४ साल पौष १६ गते जिरी भित्र बसोबास गर्ने नेवार समुदायका केहि साथीहरू भेला भई आफ्नो कला र संस्कृतिको जर्गेना तथा संरक्षण गर्ने उद्देश्यका साथ मेरो अग्रसरतामा नेवाः देय् दबू केन्द्रीय कार्यालय काठमाडौंसंग समन्वय गरी नेवाः देय् दबू नगपालिका समिति जिरी गठन गरी आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छु । नेवाः देय् दबू गठन हुनु पूर्व नेवार समुदायको विशेष महत्व बोकेको लाखे नाच देखाउन सदन मुनिकार चरिकोट लगायत छिमेकी जिल्ला रामेछापको ठोसेका नेवार समुदायलाई अनुरोध गरी २ दिनको लागि भएपनि जिरीमा झिकाई लाखे नाच देखाउने गरिन्थ्यो । तर आजको यो अवस्थामा आईपुग्दा नेवाः देय् दबूले जिरीले आफ्नै समुदायमा धिमे बाजा, लाखे नाच प्रशिक्षण गराई लाखे नाच प्रस्तुत गर्यो, मलाई लाग्छ यसले हाम्रो समुदायमा मात्र नभई समग्र जिरीमा बसोबास गरिरहेका अन्य समुदाय बीच पनि समन्वयकारी भुमिका निर्वाह गरेको छ । हामीले आफ्नोकला र संस्कृति प्रस्तुत गर्दा अन्य समुदायमा पनि आफ्नो कला र संस्कृतिलाई संरक्षण गर्नु पर्छ भन्ने भावना जागरण भएको मैले महसुस गरेको छु । यसरी नेवाः देय् दबूले आफ्नो कला र संस्कृतिलाई निरन्तर रूपमा प्रस्तुत गर्दै गर्दा आफ्नो समुदायको विकासको साथ साथै सामाजिक क्रियाकलाप लगायत जिरीको विभिन्न विकासका कार्यक्रमहरूमा हातेमालो गर्दै आइरहेको छ । आज मलाई लाग्छ हाम्रो यि क्रियाकलापले समग्र जिरीको पर्यटन विकासमा टेवा पुग्नेछ ।
गोरखामा नेवाः देय् दबू गठन अनुभव
■ देवीप्रसाद श्रेष्ठ
नेवाः देय् दबू गोरखा जिल्ला समिति नायः
गोरखा जिल्लामा नेवारहरूको बसोबास कहिलेबाट भयो भन्ने कुनै दस्तावेजहरू प्रमाणहरू पाउन सकेको छैन । यस जिल्लामा आएर बसोबास गरेका नेवार समुदायहरू अन्तर्गत चौविसकोठी श्रेष्ठ परिवारलाई शाहबंश राजाको आगमन सँगसँगै काठमाण्डौबाट व्यापारको लागि ल्याई जिल्ला सदरमुकाममा राख्ने व्यवस्था भएको हो भन्ने किम्वदन्ती रहेकने छ । तर, अन्य नेवार परिवारको आगमन तथा बसोबास सम्बन्धमा कहिले को आयो कति पुस्ता भयो भन्ने कुनै जानकारी प्राप्त हुन सकेको छैन । यस जिल्लामा नेवा: भाषा सम्बन्धमा नेवारको बाहुल्यता भएको केहि ठाउँहरू जस्तै गोरखा बजार छिपिटोल, खिरेपानी, पदेली, पाटेचौर, ताप्ले पौवा शिखर, खोप्लाङ्ग, आरुघाट बजार, पालुन्टार बजार एवं ठाँटीपोखरी, वड डांडा, अर्चले, एअरपोर्ट, ताकु, मसेल, पिपलथोक लगायत ठाउमा नेवाः भाषा बोलीचालीमा तथा प्रयोगमा आएको पाउछौ भने बाँकी स्थान भने भाषाको कमि नै रहेको छ । नेवाः भाषा बोल्नेको संख्या न्यून भएतापनि आफ्ना नातागोतामा साहिनो लगाएर बोलाउने शब्द र चिजविजहरूको नाम भने नेवाः भाषामा नै लिने गरेको पाईन्छ ।
यस जिल्लामा बसोबास भएका नेवारहरू आफ्नो कार्य दक्षता, सीप र क्षमता अनुसार व्यापार, कृषि, औद्योगिक क्षेत्रमा व्यवसाय गरी संलग्न रहेको पाईन्छ भने केहि व्यक्तिहरू राजनैतिक क्षेत्र र केहि राष्ट्र सेवकको रूपमा रहेका छन् । यस जिल्लामा व्यापारीक क्षेत्रको स्थान त्यति ठूलो नभए पनि व्यापारीक केन्द्रको रूपमा गोरखा सदरमुकाममा रहेका गोरखा बजार र पूर्वोत्तर आवागमनको द्वारको रूपमा चिनिने आघाटको बजार पाउन सकिन्छ । गाऊँ स्तरमा पुरानो बजारको रूपमा
खान्चोक बजार, मनकामना मन्दिर परिसरको बजार, लुईटेल बजार, पालुन्टार ठाँटीपोखरी बजार, पालुन्टार एअरपोर्ट बजार, भच्चेक बजार रहे पनि हाल सबै गाउँहरूमा स्थानीय बजारको व्यवस्थापन भएको छ । यी वजार क्षेत्रमा अन्य जातजातिको तुलनामा नेवार समुदाय नै अगाडि रहेको पाईन्छ । नेवार जाति व्यापार उद्योग व्यवसाय गर्ने जातजाति भए पनि यस जिल्लामा बसोबास गरी आएका अधिकांश नेवार समुदायहरू ग्रामिण क्षेत्रमा बस्ने भएकोले कृषि व्यवसायमा नै निर्भर रहेको छ ।
कर्मकाण्ड तथा संस्कारहरू संचालन सम्बन्धमा यस जिल्लाका नेवार समुदायहरू जन्म देखि मृत्युसम्म गरिने सबै संस्कारहरू गर्ने गर्दछन् । कर्मकाण्ड गर्ने तौरतरिका भने फरक फरक भएको पाईन्छ । केहि समुदायमा नेवारहरूको पुरोहित यस ठाउँमा नपाईनुको कारणले कुटुम्व ज्वाँई भान्जालाई नै पुरोहित मानेर उनिहरूबाट नै कर्मकाण्ड गराउने गर्दछन् भने केहि समुदायमा ब्राह्मणद्वारा कर्मकाण्ड गराउने गरिएको पाईन्छ । तर बालबालिकाको इहि, पासनी, ब्रतवन्ध, विबाह जस्ता कार्यहरू भने सबै नेवार समुदायमा नेवार रिती चालचलन अनुसार नै गर्ने गरिएको छ । चाडपर्व मनाउने सम्बन्धमा हिन्दु संस्कार अनुसार मानिआएको चाडपर्व पुरै स्वीकार गरी मानि आएका छन् तापनि नेवार जातिले मानि आएका पर्वहरू विष्केट संक्रान्ती, सिठीनख गठांमुगः चःहे, चौथी, म्हपूजा, किजापूजा, योमरी पुन्हि पर्वहरू विशेष रूपले मनाउने चलन छ । अन्य संस्कृतिहरू सम्बन्धमा सापारु पर्व गाईजात्रा निकाल्ने र नचाउने, लाखे नचाउने, टाकटुके खेल्ने, हिलेजात्रा मनाउने चलन पनि सबै नेवार बस्तीमा यद्यपि कायम नै छ । यस्तै खानपान सम्बन्धमा ठूला पर्वहरूमा लपेसो, टपरी, पतरी, केराको पातमा भोज खाने चलन छोडिएको छैन । नेवारी पोसाक भेषभूषा सम्बन्धमा नेवाः देय् दबू गठन हुनु पूर्व ताप्ले, आरुघाट, सदरमुकाम निकट छिपिटोल, धुंवाकोटमा आंशिक रूपमा प्रयोग हुंदै आएको भएता पनि गठन पश्चात् भने प्राय गरेर शहर बजार गाउँघर सबै ठाउँका समुदायले नेवाः पोषाक प्रयोगमा ल्याई नेवारको पहिचान स्थापित गर्न सफल भएका छन् ।
नेवारको बसोबास सम्बन्धमा गोरखाको राजनैतिक विभाजन तथा पूर्व साविक संरचना अनुसार १ नगरपालिका र ६६ गाउँपालिका मध्ये १ नगरपालिका र ४५ गाउँपालिकामा २०६८ को जनगणना तथ्यांक अनुसार नेवारहरूको जनसंख्या २०,८२३ तथा ८.११ प्रतिशत रहेको पाईन्छ । तर वर्तमान समयमा यस सख्यामा बृद्धि भएको छ ।
नेवाः देय् दबू गठन:-
नेवाः संस्कृति नेपाली समाजमा रहेको पुरानो संस्कृति मध्ये एक हो । समाजलाई आजको युगसम्म ल्याउनका लागि यी धर्म कला संस्कृति परम्पराले समाजमा आफ्नो विशिष्ट स्थान र पहिचान कायम गरेका छन् । तर पश्चिमेली सभ्यताले विसंगती र विकृति तर्फ उन्मुख बनाई रहेको यस अवस्थामा यी पश्चिमेली संस्कारलाई निरुत्साहित पार्दै आफ्ना नेवारको संस्कृतिको उत्थान र संरक्षण गरी जीवन्त राख्न आजको आवश्यकतालाई दृष्टिगत गरी नेवाः समुदायको संस्कृति उत्थान तथा संरक्षण साथै सामाजिक, शैक्षिक, आर्थिक, भौतिक आदि क्षेत्रको विकास निर्माणको निमित्त पहल कदमी गर्न गराउन एउटा संस्थाको आवश्यकता देखिन आएको हुँदा विशुद्ध समाज सेवाको भावनाले अभिप्रेरित भई ताप्ले कोखेमा समाजसेवी देवी प्रसाद श्रेष्ठको सकृयतामा २०६५ सालमा नेवाः संस्कृति उत्थान तथा संरक्षण प्रतिष्ठान नामक संस्था स्थापना भएको थियो । यस संस्थाको पहलमा ताप्ले ५ मा नेवाः सामुदायीक भवन निर्माण, आदिबासी जनजाति अन्तरगत विभिन्न कार्यक्रमहरू संचालन गएिको थियो । यसै संस्थाबाट चाडपर्व तथा समारोहमा अनिवार्य नेवार पोषाक प्रयोगमा ल्याउनु पर्ने चलनको शुभारम्भ गरिएको थियो । तत्पश्चात नेपाल आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगरबाट मुलुक भरिका नेवार समुदायहरूलाई एकिकृत गरी नेवार समुदायमा एकस्पकता ल्याई नेवार संस्कृतिको उत्थान र संरक्षण गर्ने गराउने उद्देश्य लिएर केन्द्रीय स्तरमा नेवाः अग्रजहरूबाट नेवाः देय् दबू नामक संस्थाको गठन भएको छ, यस संस्था छाता संगठनको रूपमा रहि सबै जिल्लामा नेवाः देय दबू गठन गरी एकरुपता ल्याउने अभियान सुरु भएकोले यस जिल्लामा पनि नेवाः देय् दबू गठन गर्न जानकारीका साथ आग्रह गर्नु भयो । उक्त जानकारी अनुसार यस अभियानलाई सफल बनाउन जिल्लाका केहि साथीहरू रामबाबु श्रेष्ठ, भगवानबाबु मास्के, धिरज बहादुर मास्के, भाई चन्द्र श्रेष्ठ, सत्यमान श्रेष्ठ, ईश्वरकाजी मास्के लगाएत धेरै साथीहरूको सहयोग र सकृयतामा मिति २०७१।०७।१८ गतेको दिन जिल्ला सदरमुकाममा नेवार समुदायको भेला गरियो । आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राणा मगरको अध्यक्षता र नेवाः देय् दबू केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्रकारको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले देवी प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेवाः देय् दबू तदर्थ जिल्ला समिति गठन भएको थियो ।
नेवाः देय् दबू तदर्थ समिति गठन पश्चात् यस जिल्लाका विभिन्न नेवार समुदाय गई संगठन निर्माण गर्ने उद्देश्य अनुरुप देवी प्रसाद श्रेष्ठ, रामबाबु श्रेष्ठ, राजकुमार श्रेष्ठ, विद्या मास्केको सकृयतामा इकाई समितिहरू गठन प्रकृया शुभारम्भ भयो । संगठन विस्तार गर्ने कार्य तिव्रताका साथ अगाडि बढि रहेको समयमा गोरखा जिल्लालाई नै केन्द्रविन्दु बनाएर २०७२ बैशाख १२ को विनाशकारी महाभूकम्प जानुको कारणबाट सुस्तता आयो । एक वर्ष पछि पुनः यस समितिबाट निरन्तरता दिइ गोरखा नगर पालिका अन्तर्गत नयाँबजार, खिर्रेपानी, छेपेटार, पंदेली, शक्तिचोक, कालिमाटी, पाटेचौर, पालुन्टार नगरपालिका अन्तर्गत- बडडांडा, ठाँटीपोखरी, बाइपिकेँ लुईटेल, एअरपोट, गाउँपालिका अन्तर्गत ताप्ले, धुंवाकोट, मकैसिङ, गाँखु, आरुचनौटे, बुंकोट, अश्राङ्ग, गाईखुर, च्याङ्ली, छोप्राक, नारेश्वर, हर्मि इकाई समिति गठन तथा अन्य गाउँपालिका घैरुङ्ग, बोर्लाङ्ग, फूजेल, तान्लीचोक, मसेल, नाम्जुङ्ग, देउराली, आरुपोखरी, आरुआर्वाङ्गमा सर्म्पक गरी जिल्लाका सम्पूर्ण इकाईमा समिति गठन प्रकृया अधि बढाई जिल्ला समितिको प्रथम अधिबेशनको तयार गरियो । नेवाः देय् दबू तदर्थ समितिका अध्यक्ष देवी प्रसाद श्रेष्ठको अध्यक्षता एवं नेवाः देय् दबू केन्द्रीय अध्यक्ष श्री नरेश कुमार ताम्राकार र उपाध्यक्ष श्री शंकर नारायण श्रेष्ठको उपस्थितीमा मिति २०७३ चैत्र २६ गतेका दिन प्रथम जिल्ला अधिबेशन सौहार्दपूर्ण वातवरणमा सम्पन्न भयो । नेवार भेषभूषामा सजिएर भेला भएका बृहद नेवारहरूको जमघटले गोरखा बजार नै ढाकिएको अनुभूति दिलाएको थियो । यस अधिवेशनमा नेवाः खल दमौलीबाट आउनु भएका नेवाः धिमे कलाकारहरूले प्रदर्शन गर्नु भएको कुमारी नाच सहितको विभिन्न सांस्कृतिक कार्यक्रमाबाट यस जिल्लाबासी नेवार समुदायहरू अति लाभान्वित भएका पाईन्छन् । यस कार्यक्रमले गोरखाका नेवार समुदायमा जागरण ल्याउनुको साथै आफ्नो संस्कृति जगेर्ना गर्नका लागि अभिप्रेरणा प्रदान गरेको छ । यस जिल्लामा हाल सम्म यति ठूलो संख्यामा नेवार समुदायको भेला नभएको र नेवार पोषाकमा सजिएका नेवार समुदायको बृहत भेला गोरखा जिल्लाको ऐतिहासिक नै हुनुका साथै जिल्लामा अमिट छाप बन्न सफल भएको छ । यस अधिवेशनले देवी प्रसाद श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नेवाः देय् दबू जिल्ला समिति गोरखाको गठन भएको थियो ।
नेवाः देय् दबू जिल्ला समिति गोरखाबाट गरेका उपलब्धी मूलक कार्यक्रमहरू :-
१) नेवाः मिसा दबू जिल्ला कार्य समिति गठन |
२) नेवाः धिमे बाजा जिल्ला कार्य समिति गठन ।
३) जिल्ला सदरमुकाममा धिमेबाजाको प्रशिक्षण ।
४) गोरखा नगर पालिकामा वडा स्तरिय, नगर स्तरिय नेवाः देय् दबू नगर समिति गठन |
५) नेपाल संवत् स्थापना दिवसको उपलक्षमा न्हूदया भिन्तुना कार्यक्रम ।
६) आरुघाटमा नेवाःधिमे बाजाको प्रशिक्षण ।
७) जिल्ला सदरमुकाममा ३ महिने नेवाः भाषा प्रशिक्षण कार्यक्रम
भावि कार्यक्रम
१) देशको संघीय संरचना अनुसार सबै नगरपालिका र गाउँपालिकाहरूमा संगठन विस्तार ।
२) नेवार समुदायमा कर्मकाण्ड गर्नका लागि पुरोहित गुरुजु प्रशिक्षण |
३) कर्मकाण्ड प्रशिक्षण लिने व्यक्तिको लागि ज्योतिष प्रशिक्षण |
४)नेवाः बस्तीमा माग आए अनुसार धिमे बाजाको प्रशिक्षण |
५) नेपाल संवत् प्रवर्तक शंखधर साख्वाको शालिक स्थापना ।
६) पराम्परागत नेवाः बासुरी बाजा, लाखे, कुमारी नृत्यको प्रशिक्षण |
७) नेवाः खाद्य परिकार तालिम
८) नेवाः लगायत आदिवासी जनजाति सम्बन्धि राष्ट्रिय तथा अन्राष्ट्रिय कानून तथा अनुबन्धहरू विषयमा गोष्ठि तथा अन्तरक्रिया
संगठन विस्तार गर्दा देखा परेको चुनौतिहरू:-
१) नेवार समुदायलाई भेटघाट तथा भेला गर्न गराउन कठिन धेरै पटक धाउनु पर्ने ।
२) संगठन विस्तारको क्रममा समुदायहरूबा २१ शौं शताब्दी तथा कम्प्यूटरको युगमा पनि के रुढिबाढीको कुरा ल्याएको भन्ने प्रश्न आउने ।
३) नेवार वस्तीहरू पहाडी भागमा भएकाले यातायातको समस्या भएको ।
४) एउटा संगठन निर्माण गर्न ३-४ पटक जानु पर्ने ।
५) संगठन विस्तार गर्न आर्थिको अभाव आदि ।
खुसिको क्षणहरू:-
१) नेवारको पहिचान झल्कने किसिमको पोषाकमा बाजागाजा सहित झाँकी, -यालीमा हिड्दा अति खुसी, हर्ष र आनन्दको अनुभूति ।
२) कुनै पनि सरकारी गैह्र सरकारी समारोहमा नेवारका बाजागाजा सहित झांकी -याली अनिबार्य उपस्थितिको लागि आमन्त्रित हुँदा ।
3) कार्यक्रम तथा समारोहमा नेवाः धिमे बाजा उत्कृष्ट भई प्रथम पुरस्कार लिएको ।
४) नेवार पोषाकमा भेला हुनु पर्ने कार्यक्रममा नेवार समुदाय खुसिका साथ उपस्थित हुने गरेकोमा ।
(५) यस संस्थाका सबै भातृ संगठनहरू नेवाः देय् दबू जिल्ला समिति, नगरपालिका समिति, नेवाः मिसा दबू, नेवाः धिमे बाजा समिति, युवा समुहहरू नेवाःको कार्यक्रममा सकृय रूपमा अगाडि बढी रहेकोमा ।
नेवाः भेष भूषा, भाषा, कला, संस्कृतिको उत्थान र संरक्षणार्थ एकजुट होऔं । सुमार्ग तर्फ उन्मुख गराउने नेवाः देय् दबू संगठनलाई उच्च स्थानमा पुन्याओं ।