नेवार

नेवार

१. परिचय

नेपालका आदिम जातिमध्ये नेवार जाति एक हो । नेपाल देशको नाम, इतिहास तथा संस्कृति यस जातिसँग गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा बुझिन्छ । यिनीहरूको भाषालाई नेवारी, नेवारी, नेवाः भनिए पनि यसको औपचारिक नाम नेपालभाषा ( तुलाधर, ११२०: १०) हो । नेवार जातिको वितरण १४ अञ्चल ७५ जिल्ला र छिमेकी देश भारतमा समेत देखिन्छ ।

प्राकृतिक सुन्दरता र यहाँको उर्वरभूमि भोट र भारत बीचको व्यापारिक केन्द्र भएकोले समय समयमा विभिन्न शासकहरूले यहाँको शासन आफ्नो हातमा पारेको देखिन्छ । समयको अन्तरालमा शासकहरू र उनीहरूसँगै उपत्यकाभित्र आएका विभिन्न जातिका मानिसहरू सदाका लागि यहीं बसे । विस्तारै उनीहरूले उपत्यकाको हावापानीसँगै यहाँका भाषा, कला, संस्कृति अपनाए । मंगोल मूलका किरातहरू, आर्यमूलका शाक्य, कोलीय, लिच्छवी, ठकुरी र मल्लहरू पनि नेवारमा बदलिए । बिहारबाट आएका धोबीहरू, काश्मीरबाट झरेका मुसलमानहरू पनि नेवार मै बदलिए । यसरी विभिन्न समयमा नेपाल उपत्यका भित्र पसी नेवार भाषालाई अँगाल्ने सबै नेवार भए । नेवारहरूको बीचमा उनीहरूको पहिचान दिने मानवशास्त्री, सांस्कृतिक, सामाजिक आधार केही नभए पनि उनीहरूले बोल्दै गरेको भाषा नै उनीहरूको पहिचानको बलियो आधार भएको (मल्ल, १०९८ : २५५) छ । जातीय पहिचानको एउटा आधार अनुहार, शारीरिक बनावट र नश्ल पनि हो । नेवार ब्राम्हण, श्रेष्ठहरू हेर्दा आर्य जस्तो देखिन्छ भने उदास

नेवार जातिको चिनारी

उत्तरका मंगोलसित मिल्दो देखिन्छ । महर्जन, दली, च्यामखलः वा पोडे अष्ट्राड्राभिड जस्तो पनि देखिन्छ । शारीरिक बनौटको आधारमा मात्र नेवारलाई चिनाउन सम्भव छैन । प्राचीन समयमा नेवार एक आदिवासी समूह हुन्, तर लामो इतिहासको क्रममा नेवार भित्र उत्तर, दक्षिणबाट आएका विभिन्न धर्म, संस्कृति, नश्ल आदि समावेश भए। यसको पुरानो स्वरूप हराएर बृहत् समुदायको रूपमा देखा परे । जातिको बनौटमा मात्रै हैन यसको भाषामा पनि असर पयो । यस अर्थमा नेवार मूलतः भाषिक समुदाय (Linguistic com – munity) हुन् । त्यसैले जजसले नेवार भाषालाई मातृभाषाको रूपमा प्रयोग गरे, तिनीहरू नेवारको सूचीमा समावेश (मल्ल, ११२० : ११) भए । १.१ भौगोलिक क्षेत्र

नेपाल विशाल चीन र भारतको वीचमा अवस्थित छ । नेपालको उत्तरमा हिमाल, मध्य भागमा पहाड, दक्षिणमा तराई छ। हिमालबाट पहाडको बाटो भएर तराईतिर नेपालका नदीहरु बगिरहेका छन् । मध्य भागको ठाउँठाउँमा ठूल्ठूला पोखरी अग्ला अग्ला पहाडले परिवेष्ठित छन् । काठमाडौं उपत्यका पानीले भरिएको यस्तै तलाउ थियो । कालान्तरमा भौगोलिक उथल पुथल भएर पानीको निकास खुल्यो । करिव २ लाख वर्ष अघिदेखि बागमती नदीले दक्षिणतिर चोभार डाँडालाई काट्दै आफ्नो निकास पाइन् । भूमण्डलमा हुने परिवर्तनले काठमाडौं उपत्यका वस्ती योग्य बन्यो । काठमाडौं उपत्यकामा मानववस्तीको विकास बारे इतिहासकारहरूले आ-आफ्नो ढंगबाट अलौकिक पुरूषहरूलाई श्रेय दिने गरेको कुरा भूगोलवेत्ताहरूका अनुसार तर्कहीन छ । 

ई. २००० वर्ष अघि देखि नेपालको नाउँ छिमेकी देशमा प्रख्यात छ । समयको अन्तरालसँगै नेपाल शब्दले विभिन्न नामसित समासित भई त्यस अनुरूप क्षेत्र समेत बुझिन थालियो । जस्तै

नेपाल अधिराज्य –नेपाल (मेची-महाकाली) 

नेपाल मण्डल – मध्यमाञ्चल क्षेत्र

नेपाल उपत्यका –काठमाडौं उपत्यका

१.१ नेपालमण्डल– 

नेवार जाति प्रागऐतिहासिक कालदेखि नै नेपाल उपत्यका बाहिर बसोवास गरिसकेको देखिन्छ । सो क्षेत्र नेपालमण्डल नामले प्रख्यात छ । यसैले नेपालमण्डल नेवारहरूको आदिभूमि देखिन्छ । नेपालमण्डल शब्द सबभन्दा पहिले लिच्छवी राजा जयदेव (ई. ७१३ – ७३३) को समयको शिलापत्रमा प्रयोग गरिएको देखिन्छ । लिच्छवी कालमा नेपालमण्डल आजको मध्यमाञ्चल विकास क्षेत्र जति नै ठूलो छ भन्ने कुरा मानदेवको चांगुको श. सं. ३८६ (ई. ४६४) को विजयस्तम्भ लेखले नै देखाउँछ । त्यसमा पूर्व देशा श्रयाः सामन्ता (पूर्व देशमा रहेका सामन्तहरू) र पश्चिम गण्डकी हात्ती चढी पार गरेर मल्लपुरी विजय गरी फर्केको कुरा उल्लेख छ । आजसम्म प्राप्त करीव २५० अभिलेखमा विचार गर्दा लिच्छविकालमा नेपालमण्डल कति विशाल छ भनी बुझ्न सकिन्छ । पूर्वमा दुम्जा (रामेछाप) मा अंशुवर्माको अभिलेख फेला परेको छ भने पश्चिममा केवलपुर (धाडिङ्ग) मा ध्रुवदेव – जिष्णुगुप्तको अभिलेख प्राप्त भएको छ । दक्षिणमा तिस्तुङ, चित्लाङ (मकवानपुर) मा अभिलेख प्राप्त भएको छ । उपत्यकाको उत्तरतिर लिच्छवि अभिलेख फेला परेको (तमोट, ११२६ : १३) छैन ।

नेसं ५५० को हाराहारी ईशाको १५ शदीतिर निमार्ण भएको नेपालमाहात्म्य ग्रन्थको अध्याय १५ श्लोक ३-५ मा “नेपाल क्षेत्र” को सीमा स्पष्ट लेखिएको छ

पूर्व – पुण्यवती, सर्वपापनाशिनी कौशिकी (तामाकोशी, रामेछाप)

पश्चिम – त्रिशुलगा (त्रिशूली नदी, नुवाकोट)

उत्तर – शिवपुरी सिल गोसाईकुण्ड क्षेत्र रसुवा)

दक्षिण – शीतलोदकानदी (चिसापानी, कुलेखानी नदी, मकवानपुर)

अनुमानित नेस. ७५० को हाराहारी १७ औं शदीमा लेखिएको हिमवत्खण्डमा पनि नेपालको सीमा परिभाषित गरिएको छ । त्यसको अध्याय ७० मा यसरी बयान गरिएको छ :

पूर्व – कौशिकी (तामाकोशी)

पश्चिम – गण्डकी (त्रिशूली गण्डकी)

उत्तर – नीलकण्ठ (गोसाइँकुण्ड, रसुवा)

दक्षिण – नटेश (नटारम्भेश्वर महादेवटार, मकवानपुर)

 ने.सं. ८०० (१८-१९ शदी ) नेपालमण्डलमा बौद्ध तन्त्र हेवज्र,संवरोदय, ज्ञानोदय, वज्रवाराही योगराजोत्तमरहस्य, चक्रसंवर हेरुकाभिसमय आदिको प्रभावले बज्राचार्यहरूले चतुर्विंशति न्यास गर्ने बेलामा चक्रस्वरूप बीजाक्षर उच्चारण गरेर देहस्थ नाडी पीठ समेटेर जम्बुद्वीपको बाह्यपीठ भावना गर्ने परम्परा बस्यो । यो परम्परा अनुसार उनीहरूले काठमाडौंको इन्द्रचोकको कान्तीश्वर क्षेत्रपाललाई केन्द्र मानी यी पीठहरू परिक्रमा गर्ने चलन छ।

Share