नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

मिति २०८२/११/०३ गते नागार्जुन नगरपालिकामा नेपाल भाषा, संस्कृति संरक्षण प्रर्वदन र मातृभाषा शिक्षाको लागि पहल कदमी गर्दै आएको नेवाः देय् दबू जामाच्व नगर समिति कार्य सम्पादन तर्फ काठमाडौं जिल्लाभर ११ नगर समिति मध्ये उत्कृष्ट छनौट भएकोमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कारखाना चोक स्थित क्वालिटी दरबार रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा नेवाः देय् दबू जामाच्व नगर समितिका नाय अजित पुतुवार सहित अन्य पदाधिकारी, सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियोे ।
वरिष्ठ न्वाकू (उपाध्यक्ष ) विश्व राम बलामीले नागार्जुन को नेपाल भाषा स्थाननाम जामाच्व रहेको हुंदा नागार्जुन नगरपालिकाको नेपाल भाषामा जामाच्व नगरपालिका प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । उक्त कार्यक्रममा नाय अजित पुतुवारले नगर समितिको कार्य सम्पादनको कदर भएकोमा खुसी ब्यक्त गर्दै सबै सदस्यहरूको सहकार्यले यो सफलता प्राप्त गरेको र विगतका कार्यहरूको समिक्षा गरी आगामी दिनमा यस्तो सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । साथै यें जिल्ला समिति अध्यक्ष धन बहादुर तिमला महर्जनले जामाच्व नगर समितिको शसक्त एवं अनुकरणीय भूमिकाको कदर गर्न पाउदां खुसी लागेको बताउनुभयो ।

सोही अवसरमा नागार्जुन नगरपालिका वडा नं. ६ का तेज बहादुर मानन्धरको अध्यक्षतामा ९ सदस्यीय जामाच्व नगर समिति, ६ नं. वडा समिति गठन भएको छ। नाय अजित पुतुवारले नव गठित वडा समितिका पदाधिकारीलाई सफलताको शुभकामना ब्यक्त गर्दै भाषा, लिपि तथा संस्कृति प्रर्वदनमा सधै साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै नेवाः देय् दबू जामाच्व नगर समितिको पहलकदमीमा आदिवासी जनजाति आयोगको निर्णय/ सिफारिस समयमा कार्यान्वयन नभए आन्दोलन एवं दबाबमूलक कार्यक्रम गरिने जानकारी दिनुभयो ।

मिति २०८२/१०/२४ गते नेवाः देय् दबू यें जिल्ला समितिले आफ्नो स्थापनाको १६ बार्षिक उत्सवको उपलक्ष्यमा जगतसुन्दर क्वानेकुथि, लखुतिर्थमा आयोजित वार्षिकोत्सब विशेष कार्यक्रममा काठमाडौं जिल्ला भर २०८२ सालमा कार्य सम्पादन तर्फ उत्कृष्ट समितिमा जामाच्व नगर समितिलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेवाः देय् दबूका पूर्व केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारले नेवाः देय् दबू जामाच्व नगर समितिका नाय अजित पुतुवारलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

Share